Category: क्रिकेट

  • एलएमसि कप चेसको उपाधि फूँयालले जिते 

    एलएमसि कप चेसको उपाधि फूँयालले जिते 


     ललितपुर। ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा सम्पन्न खुल्ला र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष फूयाँलले जितेका छन्। उनले ८ अंक जोडेर उपाधि जितेका हुन्।

    फूँयालले नवौं चरणको खेलमा उपाधि दाबेदार सजिन महर्जन बिरुद्ध कठिन जित दर्ता गर्दै उपाधि जितेका हुन्पु। उनले नगद १५ हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन्।

    त्यस्तै ७.५ अंक जोडेका धरानका मुहान नरसिंह श्रेष्ठले प्रोगेसिब पोइन्टको आधारमा दोश्रो हुँदै नगद १० हजार प्राप्त गरेका छन्। समान अंक जोडेर भक्तपुरका निकेन कुसाथा तृतीय बन्दै नगद ८ हजार प्राप्त गरे।

    स्पर्धामा ललितपुरका सिएम सजिन महर्जनले चौथो स्थानमा रहँदै नगद ६ हजार तथा सुरज महर्जनले पाँचौं स्थानमा रहँदै नगद ५ हजार प्राप्त गरेका छन्।

    यसैगरी मकवानपुरका एफएम क्षितिज भण्डारी, काठमाडौँका बद्रीलाल नेपाली, पाँचथरका रिसोन थापा, काठमाडौँका सिएमए केशव श्रेष्ठ र स्याङ्जाका आकाश सुवेदीले समान ७ अंक बनाउदै क्रमशः दशौं स्थान सम्मको नगद ४ हजार प्राप्त गरेका छन्।

    यसैगरी उत्कृष्ट विधागत पुरस्कार तर्फ महिलामा झापाली खेलाडी द्वय पुनम प्रसाईं प्रथम र कृतिशारा अधिकारी द्वितीय भइन्।
    उत्कृष्ट नयाँ खेलाडीमा चितवनका सत्यम शर्मा प्रथम र पोखराका आयुष भण्डारी दोस्रो भए।

    उत्कृष्ट सिनियर मा काठमाडौँका सीएम नवीन तण्डुकार प्रथम र सीएम भगवती प्रसाद शर्मा द्वितीय बने।

    उत्कृष्ट युवा-१६ वर्ष मुनि मोरङका कशिभ कार्की प्रथम, काठमाडौँका सुभनदीप थापा द्वितीय, युवा-१४ वर्षमा भक्तपुरका प्रत्युस श्रेष्ठ प्रथम, साँखुका सोहम श्रेष्ठ द्वितीय, युवा-१२ वर्ष मुनि भक्तपुरका हृदय बस्नेत प्रथम र ललितपुरका सोयस राई दोस्रो भए।

    उत्कृष्ट रेटिङ १८ सय मुनि भक्तपुरका प्रेम खड्का प्रथम, पोखराका शिशिर तिवारी द्वितीय, रेटिङ १६ सय मुनि ललितपुरका श्रीयस दाहाल प्रथम, बनेपाका राजन बजगाईं द्वितीय, उत्कृष्ट स्थानीयमा प्रलेस महर्जन प्रथम, विजय महर्जन दोस्रो तथा रौतटहका लक्कि खेलाडी मुकेश बर्माले पुरस्कार प्राप्त गरेका छन्।

    पाटनको रातो मच्छिन्द्रनाथ बहालमा एक कार्यक्रम बिच प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले विजेता खेलाडीलाई नगद १ लाख १ हजार पुरस्कृत गरेका छन्।

    १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार, खेल संयोजक वडा सदस्य बिरेन्द्र ताम्राकार, प्रविन श्रेष्ठ, निर्मला खड्गी लगायतको उपस्थिति रहेको थियो।

  • एलएमसि चेसमा सचिन महर्जन अगाडी

    एलएमसि चेसमा सचिन महर्जन अगाडी


    ललितपुर। ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा सञ्चालन भएको एलएमसि वडा कप बुद्धिचाल प्रतियोगितामा सिएम सजिन महर्जन सबै खेलमा जित निकाल्अदै अग्र स्थानमा रहेका छन्।

    ललितपुरका २०३६ रेटेड सजिन महर्जनले शुक्रबार सम्पन्न खेलहरूमा क्रमश: बनेपाका श्रीसुन तिमिला, काभ्रेका अर्पण बहादुर ढोटेल, दोलखाका राजिव कार्की, बाँकेका एआईएम अभिक शाह र काठमाडौँ चेस क्लबका सीएम केशव श्रेष्ठलाई पराजित गरेका छन्।

    ललितपुरको रातो मच्छिन्द्रनाथ बहालमा भएको प्रतिस्पर्धामा बनेपाका शैलेन्द्र न्यौपाने, भक्तपुरका निकेन कुसाथा, महालक्ष्मी नगर पालिकाका सुरज महर्जन र पाँचथरका रिसोन थापाले समान ५ अंक जोडेर संयुक्त अग्रस्थान कब्जा जमाएका छन्।

    यस्तै वडा कप रापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका १६३ खेलाडीहरूले सहभागिता जनाउदा शीर्ष २० जनाले समान ४ अंक बनाएर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्।

    तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सत्यम शर्मा, ललितपुरका राजनपुरी, सिएम केशव श्रेष्ठ, सिएम भगवती प्रसाद शर्मा, स्याङ्जाका आकाश सुवेदी, काठमाडौँका विशेष कार्की, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, बाँकेका अभिक शाह शीर्ष १५ स्थानमा छन्।

    यस्तै धादिङका सुभाषकुमार गुरुङ, दोलखाका आशिष फूँयाल, मकवानपुरका एफएम क्षितिज भण्डारी, धरानका मोहन नरसिंह श्रेष्ठ, कास्कीका सुशील सुवेदी, खोटाङका धीरेन्द्र राई, चेकमेट चेस क्लबका प्रकाश चन्द्र नेपाल, दोलखाका कविन्द्र शिवाकोटी, बनेपाका श्रीसुन तिमिला, ललितपुरका विजय महर्जन र भक्तपुरका गणेशमान दुवाल ४ अंक जोडेर उपाधि होडमा रहेका छन्।

    खेल पूर्व प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष राजेन्द्र महर्जनले बौद्धिक खेल चेस मार्फत खेलाडीहरुलाई अनुशासित समाजमा अभ्यस्त बनाउन मद्दत पुग्ने विचार ब्यक्त गरेका छन्।

    कार्यक्रममा संयोजक बिरेन्द्र ताम्राकार, प्रविन श्रेष्ठ, महासंघका प्रवक्ता राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो।
    प्रतियोगिताका विजेताले कूल धनराशी १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। शनिबार ५ चरणका खेल सम्पन्न पश्चात उपमेयर मन्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ।

  • एलएमसि वडा कप रेटिङ चेस हुने

    एलएमसि वडा कप रेटिङ चेस हुने


    ललितपुर। ललितपुर महानगरपालिका वडा नं. १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ।
    ललितपुर महानगरपालिका १९ नं. वडा अध्यक्ष राजेन्द्र महर्जनले एक विज्ञप्ति जारी गर्दै माघ २ र ३ गते हुने खुल्ला चेस प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएका छन्।

    वडा अध्यक्ष राजेन्द्र महर्जनले विश्व बुद्धिचाल महासंघ (फिडे) को अन्तर्राष्ट्रिय चेस इभेन्ट कोड नं. ४६१२५० प्राप्त गर्दै नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराएका छन्।

    अध्यक्ष महर्जनले नेपालका शीर्ष १५० जना राष्ट्रिय चेस खेलाडीहरुको नाम दर्ता सुनिश्चित भइसकेको जानकारी गराउदै ३१ जनालाई कूल नगद १ लाख १ हजार धनराशी पुरस्कार प्रदान गरिने बताएका छन्।

    उनले समाजलाई सहि दिशामा रुपान्तरण गर्न बौद्धिक खेल चेस उपयुक्त माध्ययम हुने हुदा बैचारिक स्तर उकास्न वडा कार्यालय खेलकुद प्रति बढी झुकाव राख्दै आएको अवगत गराएका छन्।
    एन्टिचिटिङ प्रमुख आईए ज्ञानेन्द्र खाइजूले अनुशासन विरुद्ध लचिलो हुन नसक्ने जानकारी गराउँदै फेयर प्ले नियम पूर्णरूपमा लागु हुने सुचित गराएका छन्।

    प्रतियोगिताका प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकारले खेल १० मिनेट १० इन्क्रिमेन्ट समयावधि रहने तथा विजेता बन्न डाइरेक्ट इन्काउन्टर, बुकोल्ज कट वान, अप्सन एफ र सोनेवर्न बर्जरको सामना गर्नु पर्ने बताएका छन्।

    प्रतियोगिताका संयोजक वडा सदस्य बिरेन्द्र ताम्राकारले प्रतिस्पर्धा ललितपुरको रातो मच्छिन्द्रनाथ मन्दिर अवस्थित मच्छिन्द्र बहालमा पहिलो दिन ५ चरण र दोस्रो दिन ४ चरणको खेल सञ्चालन पश्चात पुरस्कार वितरण गरिने बताए।

  • अन्तरपालिका कर्मचारी फुटबलको खेल तालिका सार्वजनिक

    अन्तरपालिका कर्मचारी फुटबलको खेल तालिका सार्वजनिक


    शिवसताक्षी। झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक शिवसताक्षी नगरपालिकाले माघ ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।

    शिवसताक्षी नगरपालिकाका अनुसार प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन माघ ९ गते बिहान ११ः३० बजे हुने छ । उद्घाटनको दिन ३ खेल सञ्चालन गरिने छन् ।

    खेल तालिकाअनुसार माघ १० गते ४ खेल, माघ ११ गते ४ क्वार्टरफाइनल खेल सञ्चालन हुनेछन् । त्यसैगरी माघ १२ गते २ सेमिफाइनल खेल र माघ १३ गते फाइनल खेल आयोजना गरिने खेल संयोजक प्रकाश चौधरीले जानकारी दिनुभयो ।

    प्रतियोगिताको मुख्य उद्देश्य पालिकाका कर्मचारीहरूबीच आपसी सद्भाव, सुमधुर सम्बन्ध र भाइचारा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ तथा उपविजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताअन्तर्गत म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक तथा सर्वोत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिनेछ ।

    वर्षेनी आयोजना हुँदै आएको यस प्रतियोगिताले कर्मचारीहरूबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकको छ ।

    गत वर्ष सम्पन्न प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले कमल गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ । प्रतियोगिता शिवसताक्षी–११, दुधे स्थित नगरस्तरीय दुधे रंगशालामा सञ्चालन हुनेछ ।

  • सिद्धि गणेश सहकारी कप चेसको तयारी पूरा 

    सिद्धि गणेश सहकारी कप चेसको तयारी पूरा 


    भक्तपुर। सहकारीको सातौं सिद्धान्त “समुदायप्रति चासो” मा आधारित रहेर सिद्धि गणेश सहकारीले खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

    अन्तर्राष्ट्रिय रेटिङ २००० मुनिका खेलाडीहरूलाई बुद्धिचाल स्पर्धाको अवसर जुराउँदै आफ्नै नाममा सिद्धि गणेश सहकारीले प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा गरेको छ।

    प्रतियोगिताका संयोजक विष्णु राम डुमरुका अनुसार पौष १८ र १९ गते दुई दिन सञ्चालन हुने रापिड बुद्धिचाल खेलमा १८ जना विजयी खेलाडीहरूले कुल नगद पुरस्कार ५१ हजार प्राप्त गर्ने छन्।

    संयोजक डुमरुले प्रथम स्थान हासिल गर्ने खेलाडिले नगद रु. १० हजार पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन्। खेलमा द्वितीय हुनेले रु. ७ हजार, तृतीय हुनेले ५ हजार एवं दशौं स्थान सम्म आउने खेलाडीले नगद पुरस्कार हात पार्ने छन्।

    यस्तै विधागत पुरस्कार तर्फ उत्कृष्ट महिला, सिनियर खेलाडी, नव प्रवेशी, उत्कृष्ट स्थानीय, १९ सय, १८ सय, १७ सय रेटिङ मुनिका खेलाडी, युवा १६ वर्षका खेलाडी समेतले पुरस्कार पाउने भएका छन्।

    प्रमुख निर्णायक आइए ज्ञानेन्द्र खाइजुले प्रतिस्पर्धा स्विस लिग अन्तर्गत ९ चरणको खेल सञ्चालन हुने जानकारी गराएका छन्। खाइजुका अनुसार प्रत्येक चरण १० मिनेट १० सेकेन्ड इनक्रिजमेन्ट टाइम कन्ट्रोलमा खेलाइने छ भने डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कटवानटु टाइब्रेकर नियम लागु हुने जानकारी गराएका छन्।

    भक्तपुर ७ को खन्च स्थित सिद्धि गणेशको ट्रेनिङ सभा हलमा पहिलो दिन १० बजे देखि जम्मा ४ चरणको खेल हुनेछ भने दोश्रो दिन ५ चरणको खेल पश्चात पुरस्कार वितरण समारोह सम्पन्न गर्ने आयोजकले जानकारी गराएका छन्।

  • वडा अध्यक्ष कप चेस हुने 

    वडा अध्यक्ष कप चेस हुने 


    काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजनामा प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ।

    वडा अध्यक्ष कुश ढकालले विज्ञप्ति जारी गर्दै माघ ९ र १० गते सञ्चालन हुने चेस प्रतिस्पर्धामा जम्मा ३३ जना खेलाडीहरूलाई कुल नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी गराए।

    वडा अध्यक्ष कुश ढकालले सर्वाधिक नगद पुरस्कार प्रदान गरिने बुद्धिचाल प्रतियोगितामा नेपालका शीर्ष खेलाडी लगायत विदेशी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको जानकारी गराएका छन्।

    वडा सदस्य एवं कार्यक्रमका संयोजक सन्तोष ढुंगेलका अनुसार प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कार रु.३५ हजार, द्वितीयले रु.३० हजार, तृतीयले रु. २५ हजार, चौथो हुने खेलाडीले नगद रु.२० हजार प्राप्त गर्ने छन्।

    यस्तै पाँचौं स्थान देखि सातौं स्थान सम्म आउने खेलाडीले समान नगद पुरस्कार जनही रु. १७ हजार प्राप्त गर्ने जानकारी गराएका छन्। आठौं देखि दशौं हुने खेलाडी जनही १५ हजार, एघारौं देखि पन्ध्रौं सम्मकाले जनही ७ हजार पुरस्कार हात पार्नेछन्।

    यसैगरी उत्कृष्ट महिला विधा तर्फ प्रथमले ७ हजार, द्वितीयले ६ हजार, तृतीयले ५ हजार पाउने छन्। बेस्ट अनरेटेड प्रथमले ५ हजार, दोस्रो ४ हजार, तृतीय ३ हजार, बेस्ट भेटरान प्रथमले ५ हजार, द्वितीय ४ हजार, तृतीयले ३ हजार पाउनेछ ।

    उत्कृष्ट युवा १४ वर्ष, युवा १२ वर्ष, युवा १० वर्षका खेलाडी, रेटिङ १८०० मुनि, रेटिङ १६०० मुनिका प्रथम द्वितीय तथा तृतीय हुनेले पनि नगर पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन्

    अनामनगर स्थित २९ नम्बर वडाको आफ्नै भवनमा सञ्चालन हुने स्पर्धाका निर्देशक इन्द्रकुमार बस्नेत रहेका छन् भने प्रतियोगिताको प्रमुख निर्णायक फिडे निर्णायक एफए सोराज ताम्राकारले स्वीस लिग नौ चरणको खेल १० मिनेट १० सेकेन्ड इनक्रिमेन्ट खेलाइने बताए।

  • रत्नराज्यलक्ष्मी स्कूलका अंकितको अग्रता

    रत्नराज्यलक्ष्मी स्कूलका अंकितको अग्रता


    काठमाडौं। जारी दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूह तर्फ अंकित पौडेलले ६ अंक जोडेका छन्।

    श्री रत्नराज्यलक्ष्मी सेकेण्डरी स्कूलका विद्यार्थी अंकित पौडेलले आफ्ना सबै प्रतिद्वन्द्वी माथि जीत दर्ता गर्दै एकल अग्रता कायम गर्न सफल भएका छन्।

    बुढानिलकण्ठ स्थित स्कूलको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा हिमालयन चेस एकेडेमीका आशिर्वाद थापा ५.५ अंक जोडेर दोस्रो स्थान कब्जा गरिरहेका छन्।

    यस्तै डिएभि स्कूलका हर्षवर्धन राठी, मिनिल्याण्ड इङ्गलिस स्कुलका रिदिप सिम्खडा, बागेश्वरी सेकेण्डरीका सन्देश बरुवाल, ट्रंवेल शान्ति पाठशालाका सूर्यांशु कोइराला, मातृभूमि स्कूलका सबिद प्रजापति, नाइटिङ्गेल स्कूलका सुभनदिप थापा र हिमालयन चेस एकेडेमीका अनमोल राई समान ५ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा रहेका छन्।

    युवा १३ वर्ष समूहमा सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु, ग्लोबल एजुकेशन एकेडेमी दमकका श्रीयांश चौलागाईं, भारतका बग्रि कुशल र पुष्पसदन स्कूलका हार्दिक पन्त समान ५ अंक जोडी संयुक्त पहिलो स्थानमा कब्जा जमाएका छन्।

    युवा १० वर्ष मुनि भारतीय हजेलउड स्कूलका मानस र नेपाली बालविकास इङ्गलिस स्कूलका हृदय बस्नेत समान ५ अंक बनाउदै संयुक्त पहिलो स्थानमा रहेका छन्।

    यस्तै लाबोरेटोरि सेकेण्डरी स्कूलका अंकित पोखरेल ४.५ अंक जोडेर दोस्रो स्थानमा छन्। डाइनामिक चेस एकेडेमी झापाका अक्षांश घिमिरे सहित १० खेलाडी चार अङ्क जोड्दै संयुक्त तेस्रो स्थानमा रहेका छन्।

    यसैगरी युवा १७ वर्ष छात्रा तर्फ नेपालका सनम श्रेष्ठ र श्रेषा दुवाल समान ४.५ अङ्क जोडेर संयुक्त अग्र स्थानमा छन् भने प्रज्ञा पन्त र जोत्सना महर्जन ४ अङ्क सहित दोस्रो स्थानमा छन्।

    युवा १३ वर्ष छात्रा समूहतर्फ मार्वलस स्कुलका निहाना श्रेष्ठले ५ अङ्क जोड्दै एकल अग्रता बनाएका छन्। मार्वलस स्कूलकै सुहानी सिंह ४.५ अंक दोस्रो स्थानमा छन्।

    ग्लोबल एजुकेशन एकेडेमी दमकका प्रविशा दवाडी सहित अन्य छ जना खेलाडीको समान ४ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्।
    टंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा कूल ५०४ जना विद्यार्थी खेलाडीहरू सहभागी छन्।

    उक्त अन्तर्राष्ट्रिय चेस प्रतियोगिता जम्मा ६ विधाका खेलाडीहरूलाई अन्तिम दिन १९ गते शुक्रबार कूल ३ लाख नगद पुरस्कार प्रदान गरिनेछ।

  • तुल्सीलाल स्मृति टिम चेसको उपाधि होड रोमान्चक

    तुल्सीलाल स्मृति टिम चेसको उपाधि होड रोमान्चक


    ललितपुर। यहाँ जारी ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको समिकरणले अन्तिम खेलवाट विजेता टोलिको छिनोफानो हुने भएको छ।

    ललितपुरको क्यास्पियन कलेजमा सञ्चालन भइरहेको राष्ट्रिय टिम चेस खेलको छैंटौं चरण शीर्ष चार टोली बिच कडा प्रतिस्पर्धा हुन पुगेको थियो।

    प्रतियोगितामा पहिलो टेबलमा महालक्ष्मी नगरपालिका टिमलाई दोलखा चेस होम्सले २.५ – १.५ को स्कोरमा हराउन सफल भएका छन्। यस संगै दोलखा चेस होम्स १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।

    दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईंले दोस्रो बोर्डमा सुरोज महर्जनलाई हराई महत्वपूर्ण १ अंक जोडे भने रुपेश जैसवाल, ज्वाला इम्बुङ्ग र राजन सुबेदीले क्रमशः क्षितिज भण्डारी, कमल श्रेष्ठ र अशोक मन श्रेष्ठसँग बराबरी खेले।

    यसैगरी दोस्रो टेबलमा ललितपुर महानगरपालिका टिमलाई दोलखा जिल्ला संघले समान २.५ – १.५ को स्टोरमा हराउदै महत्वपूर्ण जीत हात पारेका छन्। यस संगै दोलखा जिल्ला संघ १० अंक जोडेर संयुक्त अग्रता लिएका छन्।

    स्पर्धामा दोलखा जिल्ला संघका बद्रीलाल नेपालीले चौथो वोर्डमा ललितपुरका खेलाडी धिरेन राई हराई महत्वपूर्ण १ अंक जोडेका छन्। अन्य तिन खेलाडी रिसोन थापा, कृष्ण थापा र मिलेन कुसाथाले क्रमशः पुरुषोत्तम सिलवाल, प्रकाशचन्द्र नेपाल र मुहान नरसिंह श्रेष्ठसँग बराबरी खेले।

    यस पूर्व पाँचौं चरणको खेलमा महालक्ष्मी नगरपालिकाले दोलखा जिल्ला संघसँग २-२ को बराबरी नतिजा निकालेका थिए। जसमा बोर्ड नं. १ मा क्षितिज भण्डारी रिसोन थापालाई पराजित गर्न सफल भएका छन् भने बोर्ड नं. ३ मा शैलेन्द्र न्यौपानेले मिलेन कुसाथा संग हार ब्यहोरेका छन्।

    बोर्ड नं. २ र ४ मा क्रमशः सुरज महर्जन र कृष्ण थापा तथा कमल श्रेष्ठ र बद्रीलाल नेपाली बीच खेल बराबरमा सकेको छ।
    अर्को खेलमा दोलखा चेस होम्सले ललितपुर महानगरपालिका टिमलाई ४-० को सहज जीत दर्ता गरेका छन्। दोलखा चेस होम्सका रुपेश जैसवालले पुरुषोत्तम सिलवाललाई, पुरुषोत्तम चौलागाईंले प्रकाशचन्द्र नेपाललाई, ज्वाला इम्बुङ्गले मुहान नरसिंह श्रेष्ठलाई र राजन सुबेदीले धिरेन राईलाई हराए।

    राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको तेस्रो टोलि साबिक बिजेता थापाथली चेस पार्कले ६ खेलमा चार जीत, एक बराबर र एक हारको नतिजा सँगै ९ अंक बनाएका छन्।

    थापाथली चेस पार्कका सुश्रुत दहालले भक्तपुर जिल्ला बुद्धिचाल संघका राजेश कक्षपति, सुशील चौधरीले विनय थापालाई, आशिष फुयालले झिल्के मोक्ताङलाई तथा सबिनचन्द्र घिमिरेले अभय सिंह थापालाई पराजित गरेका छन्।

    प्रतियोगिताको सातौं चरणको खेल बिहिबार बिहान ९ बजे सञ्चालन हुनेछ । अन्तिम चरणको खेल पश्चात ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्।

  • तुल्सीलाल चेसमा तीन टोलीको उपाधि दावेदारी 

    तुल्सीलाल चेसमा तीन टोलीको उपाधि दावेदारी 


    ललितपुर। यहाँ जारी ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको चौथौं चरण सम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधि दावेदारी प्रस्तुत गरेका छन्।

    प्रतियोगिताको चार चरण खेल सम्पन्न हुँदा शीर्ष तिन टोलीले समान ३ जीत र एक बराबरी नतिजा निकाल्दै समान ७ अंक बनाएका छन्।
    महालक्ष्मी नगरपालिकाले प्रतिस्पर्धाको तेस्रो चरणमा कुमारी पाटी चेस क्लबलाई ४-० ले पाखा लगाए । जसमा क्षितिज भण्डारीले भवानी लिम्बुलाई, सुरोज महर्जनले सोम आलेलाई, शैलेन्द्र न्यौपानेले रे राईलाई तथा अशोक मोहन श्रेष्ठले टिमोन राईलाई हराएका थिए।

    यस्तै चौथो खेलमा ललितपुर महानगरपालिका टिमसँग २-२ स्कोरको बराबरी खेलेका छन्। जसमा सुरोज महर्जनले प्रकाशचन्द्र नेपाललाई तथा कमल श्रेष्ठले सिएमए सजिन महर्जनलाई पराजित गरेका छन् ।

    टोलिमा क्षितिज भण्डारी पुरुषोत्तम सिलवालसँग, शैलेन्द्र न्यौपानेले मुहान नरसिंह श्रेष्ठसँग हार ब्यहोरेका छन्। यसैगरी ललितपुर महानगरपालिका टिमले महालक्ष्मी नगरपालिका सँग बराबरी खेल्नु पूर्व थापाथली चेस पार्कलाई ३.५-०.५ स्कोरले पराजित गर्न सफल भएका थिए।

    जसमा पुरुषोत्तम सिलवालले सुश्रुत दाहाललाई, महानरसिंह श्रेष्ठले सबिनचन्द्र घिमिरेलाई तथा धिरेन राईले सुजन काफ्लेलाई पराजित गरे भने प्रकाश चन्द्र नेपाल र सुशील चौधरी बीचको खेल बराबरीमा टुंगिएको थियो।

    अर्को शीर्ष टोलि दोलखा जिल्ला संघले तेस्रो चरणमा दोलखा चेस होम माथि २.५-१.५ को विजयी नतिजा निकाल्न सफल भएका छन्।
    जसमा निकेन कुसाथाले ज्वाला इम्बुङ्गलाई, बद्रीलाल नेपालीले राजन सुबेदीलाई हराए। कृष्ण थापा र पुरुषोत्तम चौलागाईको खेल बराबरीमा टुङ्गिए भने रिसोन थापा चैं रुपेश जैसवालसँग हार्न पुगे।
    यस्तै चौथो खेल थापाथली चेस पार्कसंग २-२ को बराबरी नतिजा निकालेका छन्।

    जसमा रिसोन थापाले सुश्रुत दाहाललाई, कृष्ण थापाले सुशील चौधरीलाई हराए भने निकेनले आशीष फूँयाल संग र बद्रीले सबिनचन्द्र घिमिरेसँग पराजित हुन पुगे।

    स्पर्धामा कोशी प्रदेश बुद्धिचाल संघ र दोलखा चेस होम्स् समान ६ अंक जोडेर चौथो तथा पाँचौं स्थानमा उभिएका छन्। यस्तै थापाथली चेस पार्क र सुदुरपश्चिम चेस संघ समान ५ अंक बनाएर पछ्याइरहेका छन्।

    खेल पूर्व स्थानीय खेलप्रेमी सम्झना ल्याबोरोटोरीका प्रमुख उर्दीप जोशीले सेतो गोटी चालेर खेल शुरु गरेका थिए।

    प्रतियोगिताका विजयी टिमहरुले नगद ५ लाख १० हजार पुरस्कार बाँडेर लिने छन् । यो प्रतिस्पर्धा २५ गते सम्म चल्नेछ भने ७ चरणको लिग खेल पश्चात विजयी टोली घोषित हुनेछ।

  • तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी अगाडी 

    तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी अगाडी 


    ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएका छन्।

    महालक्ष्मी नगरपालिकाको चेस टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४-० ले पञ्छाएका थिए भने दोस्रो खेलमा पेभिलियन चेस एकेडेमी माथि ४-० को जीत नतिजा आत्मसाथ गरेका छन्।

    महालक्ष्मीका एफएम क्षितिज भण्डारीले गणेशबहादुर थापा र प्रत्युस श्रेष्ठलाई, सुरोज महर्जनले कविन्द्र शिवाकोटी र सोहम श्रेष्ठलाई, अशोक मोहन श्रेष्ठले प्रेम खड्का र अंकुर पोखरेल द्वयलाई पराजित गरेका छन्।

    महालक्ष्मीकै शैलेन्द्र न्यौपानेले श्रीयस दाहाल र कमल श्रेष्ठले गगन लावती माथि जीत दर्तागरि टोलीको ४ अंक बनाएर टाइब्रेक प्वाइन्ट ८ जोडी शीर्ष स्थानमा कब्जा जमाएका छन्।

    यस्तै साबिक बिजेता थापाथली चेस पार्कले समान ४ अंक टाइब्रेक प्वाइन्ट ७.५ जोडेर दोस्रो स्थान सुरक्षित गरेका छन्। पार्कले पहिलो चरणमा सुदूरपश्चिम चेस संघलाई ४-० तथा कास्की जिल्ला संघलाई ३.५ – ०.५ ले पञ्छाएका छन्।

    थापाथली टिमका सुश्रुत दहालले महेश खड्का र सुनिल बहादुर कोइरालालाई, आशिष फुयालले भीमदत्त पाण्डे र सुशील सुवेदीलाई, सबिन चन्द्र घिमिरेले जित बहादुर कक्षपति र सागर शाहीलाई हराउन सफल भएका छन्। पार्कका सुजन काफ्लेले शिवप्रसाद पौडेल माथि जीत दर्ता गर्दै राजन पुरि सँग बराबरी खेलेका छन्।

    यसैगरी ललितपुर महानगरपालिका टिमले ४ अंक जोडेर टाइब्रेक ७ प्वाइन्टका आधारमा तेस्रो स्थान सुरक्षित गरेका छन्।

    ललितपुर महानगरपालिका टोलीले पहिलो चरणमा भक्तपुर जिल्ला संघलाई ३-१ तथा दोश्रो चरणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई ४-० ले पराजित हराउन सफल भए।

    महानगरपालिकाका सिएमए पुरुषोत्तम सिलवालले विनय थापा र अमिन शाक्यलाई, प्रकाशचन्द्र नेपालले झिल्के मोक्तान र सानोभाइ महर्जनलाई, मोहन नरसिंह श्रेष्ठले अभय सिंह थापा र रत्न व्यञ्जनकारलाई पराजित गरे ।

    महानगरका धिरेन राईले विजय महर्जनलाई पराजित गरेका छन् भने सकिन महर्जन अभिक साहसँग हार ब्यहोरेका छन्।

    प्रतिस्पर्धामा दोलखा जिल्ला संघले समान ४ अंक जोडेर टाइब्रेक ६.५ प्वाइन्टका आधारमा चौथो स्थानमा रहे भने दोलखा चेस होम्स् ४ अंक टाइब्रेक ५ प्वाइन्टका आधारमा पाँचौं स्थानमा छन्।

    दोलखा जिल्ला संघले कोशी प्रदेशलाई ४-० तथा मध्यपुर थिमिलाई २.५ – १.५ स्कोरमा हराए भने दोलखा होम्सले गोदावरी नगरपालिकलाई कठिन २.५ – १.५ तथा काठमाडौं जिल्ला संघलाई २.५ – १.५ स्टोरमा पराजित गरेका छन्।

    प्रतियोगिता अघि बाग्मती गाउँ पालिकाका अध्यक्ष बीरबहादुर लामा र महानगरपालिका वडा नं २० का अध्यक्ष चन्द्र महर्जनले खेल आरम्भ गरेका थिए।