Category: फुटबल

  • दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय चेसको तयारी पूरा

    दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय चेसको तयारी पूरा


    काठमाडौं। बुढानिलकण्ठ नगरपालिका स्थित स्टार होटल रोयल आस्टोरियामा १७ गतेदेखि १९ गते सम्म तीन दिन सञ्चालन हुने ट्रंग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ।

    ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपाल, भारत र श्रीलंका गरि तिन राष्ट्रका ४४५ विद्यार्थीको सहभागिता रहने पक्का भइसकेको छ।

    विद्यार्थी बीच चेस खेलको नवप्रतिभा खेलाडी खोज गर्ने अभिप्रायले आयोजना गरिएको यस प्रतियोगितामा युवा १० वर्ष, युवा १३ वर्ष र युवा १७ वर्ष गरी जम्मा ६ विधाका छात्र-छात्रा प्रतिस्पर्धामा उत्रने छन्।

    स्पर्धामा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्ने प्रत्येक विधाका विजयी छात्र र छात्रा विद्यार्थी खेलाडीहरुले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार पुरस्कार तथा शिल्ड, पदक र प्रमाणपत्र हात पार्ने छन्।

    हरेक विधामा नगद ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको कूल ३ लाख पुरस्कार सहित आवास एवं खाना गरि २० लाख खर्च हुने अनुमान गरिएको छ।

    टिआइएका प्रिन्सिपल नीरा प्रधानले विदेशी चेस खेलाडी सहित नेपालका ७ प्रदेशवाट पनि विद्यार्थी सहभागी गरि आयोजना गर्न पाउनु प्रतियोगिता स्वयं मै उपलब्धि भएको जानकारी गराएका छन्।
    विद्यार्थी खेलाडीले सर्वाधिक पुरस्कार धनराशीको प्रतियोगितामा सहभागी हुन पाउनु चेस प्रोफेसनल तर्फ अग्रसर भएको सिइओ कर्मा सोनाम वाङ्दी शेर्पाले बताए।

    प्रतियोगिताको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा तथा बुद्धिचाल महासंघ अध्यक्ष हेराकाजी महर्जन एवं पुरस्कार वितरण तथा समापन खेलकुद मन्त्री बब्लु गुप्ताले गर्ने तय भएको संयोजक उज्जवल रिजालले जानकारी गराए।

    प्रतियोगिताका प्रमुख निर्णायक मिशन बास्कोटाका अनुसार स्पर्धा अन्तर्राष्ट्रिय स्वीस लिग प्रणालीको नियमका आधारमा स्वीस मानेजर सफ्टवेयर प्रयोग गरिने बताएको छ।

    प्रतियोगिताको मिडिया पार्टनर प्राइम टेलिभिजन तथा बुद्धिचाल महासंघ प्रचार विभागले संप्रेषण गर्नेछ।

  • प्याब्सन जुनियर चेसमा भ्याली पब्लिक अगाडी

    प्याब्सन जुनियर चेसमा भ्याली पब्लिक अगाडी


    ललितपुर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (पाब्सन) ललितपुरद्वारा आयोजित अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आजदेखि नक्खु स्थित श्रीकुल स्कुलमा सुरु भएको छ।

    ललितपुरका २५ विद्यालयवाट ६८ जना विद्यार्थी खेलाडीको सहभागिता सहित सञ्चालन भइरहेको दुईदिने प्रतियोगितामा सीनियर ब्वाइज, सीनियर गर्ल्स, जुनियर ब्वाइज  र जुनियर गर्ल्स गरी चार समूहमा प्रतिस्पर्धा भइरहेको छ।

    प्रतियोगितामा फ्युचर स्टारका स्कुलका शुभ श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गर्दै पूर्ण ४ अंक सहित अविजित अग्रस्थान हासिल गर्न सफल भएका छन्।

    सिनियर तर्फ तीनजना खेलाडी विलियम पब्लिक स्कूलका रिक्की महर्जन, पाठशाला स्कुलका ओस्कार पन्थी र प्याराडाइज स्कूलका प्रणव पाण्डेले समान ३.५ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्।

    यस्तै भ्याली पब्लिक स्कुलका शैलेश बस्नेत, माउण्ट ओलिभ स्कूलका सन्दीप श्रेष्ठ र नाजररेट स्कूलका विश्वराज राय ३ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्।

    यसैगरी जुनियर ब्वाइज समूहमा भ्याली पब्लिक स्कूलका प्रतिक ढुंगेल, विलियम पब्लिक स्कूलका सोयस राई र  जुगल स्कूलका निकेश राउत तीनै जना खेलाडीले समान ३.५ अंक जोडी शीर्ष स्थानमा बराबरी कायम राखेका छन्।

    यता सिनियर गर्ल्स समूहमा आदर्श विद्या सदन का कृषा खतिवडा ३ अंकसहित अग्रस्थानमा छिन् भने नाजरत स्कूलका अनुष्का श्रेष्ठ र विलियम पब्लिक स्कुलका कृतिका लामा दुवै २.५ अंकका साथ पछ्याइरहेका छन्।

    जुनियर गर्ल्स समूहमा श्रीकुल स्कुलका प्रकृति थापा र फ्यूचर स्टार स्कूलका ग्लोसी श्रेष्ठ ३–३ अंक बोकेर संयुक्त शीर्ष स्थानमा छन्।

    आदर्श विद्या सदनका सबिना श्रेष्ठ र प्रेरणा स्कूलका जोया राईले २ अंक जोड्दै प्रतिस्पर्धा कायम राखेका छन्।

    खेल पूर्व निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका अध्यक्ष ताराप्रसाद खनालले बौद्धिक बुद्धिचाल खेललाई विद्यालय स्तरमा पुर्‍याउने प्रयास सफल भएको बताएका छन्।

    अध्यक्ष ताराप्रसाद खनालले विद्यार्थी छात्र छात्राहरू बुद्धिचाल खेल मार्फत तिक्ष्ण बुद्धि, स्मरण शक्ति, कार्ययोजना तय, अनुशासित इत्यादि राम्रा कुरा जीवनमा अवलम्बन गर्ने भएको कारण प्रत्येक विद्यालयले बौद्धिक बुद्धिचाल खेललाई पाठ्यक्रममा राख्दै अगाडि बढ्नुपर्ने विचार राखेका थिए।

  • विश्व युथ खेल खेल्न नेपाली खेलाडी अल्बानिया प्रस्थान

    विश्व युथ खेल खेल्न नेपाली खेलाडी अल्बानिया प्रस्थान

    काठमाडौँ। नेपालका उदीयमान दुई युवा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवाल र एआइएम अभीक शाह अल्बानिया स्थित डुरेस प्रस्थान गरेका छन्।

    उनीहरूले अक्टोबर ३ देखि १६ सम्म सञ्चालन हुने फिडे वर्ल्ड युथ चेस च्याम्पियनशिप २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

    उक्त प्रतिष्ठित विश्व युवाहरुको चेस प्रतिस्पर्धामा नेपाल सहित विश्वभर ८० राष्ट्रका जम्मा ७२० जना खेलाडीहरू सहभागी रहने निश्चित भएको छ।

    क्लासिकल स्पर्धा अन्तर्गत यूवा-१४, यूवा–१६ र यूवा–१८ वर्ष फरक उमेर समूहमा विभाजित रहेर ११ चरणको स्विस प्रणालीमा सञ्चालन गरिनेछ।

    स्टान्डर्ड चेस प्रतिस्पर्धामा प्रत्येक खेलाडीलाई पहिलो ४० चालका लागि ९० मिनेट, बाँकी खेलका लागि थप ३० मिनेट र शुरु देखिनै हरेक चालमा ३० सेकेन्ड इन्क्रिजमेन्ट समय प्रदान गरिने छ।

    युवा १८ वर्ष मुनिको समूहमा पहिलो वरियता प्राप्त पोल्यान्डका २५२४ रेटेड खेलाडी ग्रान्ड मास्टर क्लिमकोवस्कि सहित सयौं सयौं टाइटल होल्डर खेलाडीहरु संग २२९ औं वरियतामा रहेर नेपालका २१२९ रेटेड फिडे मास्टर पुरुषोत्तम सिलवालले प्रतिस्पर्धा गर्नेछन्।

    यस्तै ४२५ औं वरियतामा यूवा–१६ वर्ष मुनि उमेर समूहमा रहेर अर्का नेपाली १९२८ रेटेड खेलाडी एआइएम अभीक शाहले प्रतिस्पर्धा गर्नेछन्।

    शुक्रबार देखि अल्बानियामा शुरु हुने ऐतिहासिक वर्ल्ड युथ चेस प्रतिस्पर्धाका लागि त्यसतर्फ प्रस्थानको अवसरमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन्।

    विश्व बुद्धिचाल महासंघ (फिडे) र अल्बानिया चेस महासंघ (एसिएफ)को संयुक्त आयोजनामा सञ्चालन हुने प्रतिस्पर्धामा नेपालका दुबै खेलाडीले आफ्नो लगनशीलता, प्रतिबद्धता र क्षमताका माध्यमबाट नेपालको नाम विश्व चेस जगतमा गौरवान्वित बनाउने छ, महर्जनले विश्वास व्यक्त गरेका छन्।

    विदाईको अवसरमा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर राणाभाट, प्रवक्ता राजु ताम्राकार तथा खेलाडीका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

  • नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौता

    नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौता


    मस्को। नेपाल र मस्को क्षेत्रिय चेस महासंघ बीच ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ।

    रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

    रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर पश्चात सम्झौता पत्र अदलाबदलि गरेका छन्।

    उक्त सम्झौता अनुसार दुबै महासंघले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन्।

    सम्झौतामा दुबै पक्षबीच चेस लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुई देशीय आपसी भ्रमण गरिने व्यवस्था गरिएको छ।

    यस्तैगरी नेपाल र रसियामा खेलाडीहरूको तालिम सञ्चालन गरिने तथा अनलाइन मार्फत समेत प्रशिक्षण हुने उल्लेख छ।
    त्यस्तै नयाँ खेलाडी तयार गर्न प्रशिक्षकहरूको सीप अभिवृद्धि, अतिरिक्त शिक्षा र तालिमको व्यवस्था समेत गरिनेछ।

    नेपाल र रुसमा दुई राष्ट्रका खेलाडी बीच द्विपक्षीय प्रतियोगिता आयोजना गर्ने तथा समयानुकूल अनलाइन मार्फत पनि यस्ता प्रतियोगिता सञ्चालन गरिनेछ।

    साथै, चेस सम्बन्धी विषयगत गोष्ठी, सम्मेलन र विभिन्न कार्यक्रमहरूको समेत आयोजना गर्ने सहमति भएको छ।
    सम्झौता अनुरुप खेलाडी एवं खेल प्रतिनिधिहरूको सहभागिता र कार्यक्रमका वित्तीय शर्तहरू दुबै पक्षबीच अग्रिम सहमति गरेर तय गरिनेछ।

    सम्झौतापत्रमा उल्लेख भए अनुसार यस सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिका रुपमा मानिने छैन र यसले अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै कानुनी दायित्व सिर्जना गर्दैन। नितान्त द्विदेशीय चेस खेल प्रवर्द्धनका बिषयमा केन्द्रित रहनेछ।

    सम्झौता हस्ताक्षर भएदेखि लागू हुनेछ भने कुनै पनि पक्षले सम्झौता अन्त्य गर्न चाहेको खण्डमा ६ महिना अघि नै अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ।

    रुस गणराज्य काल्मिकियाका राष्ट्रपति एवं काल्मिक क्षेत्रीय चेस फेडरेसनका अध्यक्ष समेत रहेका किर्सान निकोस्लाभिच इल्युमजिनोभको अग्रसरतामा ६ बुँदे सम्झौता भएको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिएका छन्।

    महर्जनका अनुसार बुद्ध धर्मका अनुयायी किर्सानले नेपाल भ्रमणका क्रममा परिकल्पना गरेको बौद्ध राष्ट्र बिचको चेस खेल काल्मिकियामा सम्पन्न गरेको छ।

    उनले विश्वशान्ति दुत गौतम बुद्धको नाममा दोस्रो प्रतियोगिता पुनः रुसमा हुने र तेस्रो संस्करण नेपालमा आयोजना गर्ने समझदारी बनेको जानकारी गराएका छन्।

    किर्सानको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेका सर्गेइ कार्जाकिन जम्मा १२ वर्ष ७ महिनाको उमेरमा विश्वको सबैभन्दा कान्छो चेस ग्रायण्ड मास्टरका रुपमा रेकर्ड राख्न सफल खेलाडी हुन्।

    रुस क्रिमिया संघका पार्षद सिनेटर सर्जेइ कार्जाकिनले नेपाली युवा खेलाडीको खेल स्तर सोचे भन्दा उच्च रहेको हुदा थप प्रशिक्षणको अवसर प्रदान गर्न यस सम्झौताले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    सम्झौता भए पश्चात महासंघका प्रवक्ता राजु ताम्राकारले विगतमा पनि पहिलो जेनेरेसनका खेलाडीहरुलाई रसियन जिएम अलेक्जेन्डर फोमिनि, बंगलादेशका जिएम निहाज मुर्सेद, भारतका गोविन्द बल्लब (जिबि) जोशीवाट प्रशिक्षण प्रदान गरिएको बताए।

    हालै नेपाली चेस ओलम्पियाड टिमलाई काजकिस्तानी जिएम मुर्ताज काजगल्यएभ तथा आइएम बख्तियार अस्कारोभले ‌नेपाल मै चेस प्रशिक्षणको प्रबन्धक गरेको ताम्राकारले जानकारी गराएका छन्।

    विश्व बुद्धिचाल महासंघ (फिडे)का निवर्तमान अध्यक्ष किर्सानको सहयोगमा सन् २०१५ देखि २०२१ सम्म ६ वर्ष नेपाली चेस खेलाडीहरुलाई अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेको थियो।

    तत्कालीन बुद्धिचाल संघको पहलमा रसिया पिपुल्स फ्रेन्डशिप युनिभर्सिटीको छात्रवृत्ति अवसर सदुपयोग गर्नेमा वर्तमान उच्च २२५३ रेटेड एफएम बिबेक थिङ, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र सौरभ प्रधान हुन्।

    प्रवक्ता ताम्राकारका अनुसार रसियामा भएको दुई देशीय सम्झौताले पुनः छात्रवृत्ति प्राप्त हुने भएको छ। साथै महासंघले नेपाली खेलाडीहरुको खेल स्तर बृद्धि गर्न विभिन्न कोणबाट पहल जारी राखेको बताएका छन्।

  • विश्व क्याडेट चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली कजाकिस्तान प्रस्थान 

    विश्व क्याडेट चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली कजाकिस्तान प्रस्थान 


    काठमाडौँ। विश्व बुद्धिचाल महासङ्घ (फिडे) र काजकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालन हुने फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली कजाकस्तानको अल्माटी प्रस्थान गरेको छ।

    नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाको नेतृत्वमा युवा १२ वर्ष मुनिका अग्रिम सैंजु र हार्दिक पाण्डे बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

    यही सेप्टेम्बर १९ देखि सुरु भई सेप्टेम्बर ३० तारिख सम्म सञ्चालन हुने विश्व क्याडेट चेस प्रतियोगितामा नेपाल सहित आयोजक देश कजाकिस्तान, अमेरिका, भारत, फ्रान्स, रोमानिया, जर्मनी, पोल्याण्ड लगायत विभिन्न ८० भन्दा बढी देशका बलिया खेलाडी सहभागी छन्।

    उक्त प्रतिस्पर्धामा युवा १२ वर्ष मुनि प्रशिक्षण लिएका क्याडेट १७६ जना खेलाडीहरूको बीच क्लासिकल ११ राउण्ड स्विस सिस्तम अन्तर्गत खेल सञ्चालन हुनेछ भने प्रतियोगितामा ९० मिनेट प्लस ३० सेकेन्डको समय नियन्त्रण तोकिएको छ।

    प्रतिस्पर्धाका शीर्ष वरियता अमेरिकाका २३३० रेटेड खेलाडी सिएमए गुओ एथन, २३२० रेटेड एफएम झु लिनक्सी, २२५८ रेटेड लिङ चेन्क्सुआन, सिरियाका २३०७ रेटेड एफएम फण्डिला मानेन, फिडेको झण्डामा खेल्ने खेलाडी २२५४ रेटेड दामोदर बुल्गक छन्।

    प्रतियोगितामा १८३६ औसत रेटिङका युवा १२ वर्ष मुनिका खेलाडीहरू सहभागी मध्ये नेपालको तर्फबाट उदयमान खेलाडी द्वय १३० औं स्थानमा रहेर १६८० रेटेड अग्रिम सैंजु र १३८ औं स्थानमा रहेर १६४६ रेटेड हार्दिक पन्तले आ-आफ्नो चुनौती पेश गर्नेछन्।

    बिहिबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेल टोलीलाई नेपाल बुद्धिचाल महासङ्घका सचिवालय सदस्य बालाराम पुन र प्रवक्ता राजु ताम्राकारले विदाई गरेका छन्।

    नेपाल बुद्धिचाल महासङ्घका सचिवालय सदस्य समेत रहेका राजु ताम्राकारका अनुसार नेपाल बुद्धिचाल महासङ्घ र कजाकिस्तान चेस फेडरेसनले केही समय अगाडि नेपाली युवा पिँढीको चेस खेल विकास गर्न दुई देशबीच पारस्परिक सहयोग गर्ने समझदारीमा हस्ताक्षर गरेको जानकारी गराएका छन्।

    ताम्राकारका अनुसार यसै समझदारी अन्तर्गत काजकिस्तान चेस फेडरेसनले कजाकिस्तानको फ्रिडम एसियन चेस इनिसिएटिभ प्रोजेक्ट मार्फत नेपालमा विदेशी प्रशिक्षकद्वारा बुद्धिचाल खेलको प्रशिक्षण प्रदान गरिसकेको छ।

    उक्त एफएसिआई बुद्धिचाल प्रशिक्षणका प्रशिक्षार्थीद्वय अग्रिम सैजु र हार्दिक पन्तलाई फिडे विश्व क्याडेट चेस प्रतिस्पर्धामा सहभागी बन्न एफएसिआई कार्यक्रमले सपोर्ट गरेको बताएका छन्।

  • नेपाली खेलाडीहरु रुस प्रस्थान

    नेपाली खेलाडीहरु रुस प्रस्थान

    राजु ताम्राकार, काठमाडौँ। पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरुबीच हुने चेस प्रतियोगितामा सहभागी हुन नेपाल बुद्धिचाल खेल टोली बुधबार बिहान रूसको रिपब्लिक अफ क्याल्मिकिया, एलिस्तामा प्रस्थान गरेको छ।

    विश्वका प्रमुख बौद्ध धर्म मान्ने देशहरूलाई आमन्त्रण गरेको आयोजक रूसले ‘स्पिरिट अफ धर्म’ को नारा दिँदै यही “सेप्टेम्बर १७ देखि २३ सम्म सञ्चालन गरिने चेस प्रतियोगितामा बुद्ध जन्मेको देश नेपाललाई पनि आमन्त्रण गरिएको हो।

    यो प्रतियोगिता रसियाको बुद्धिष्ट गणराज्य काल्मिकियाको सरकार, काल्मिक चेस फेडरेशन तथा मस्को क्षेत्रीय चेस फेडरेशनको सहकार्यमा आयोजना गरिएको हो।

    प्रतियोगिता विश्व चेस महासंघ फिडेको नियमअनुसार २५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्ट ‘र्‍यापिड’ र पाँच मिनेट ३ सेकेन्ड इनक्रिजमेन्ट ‘ब्लिट्स’ विधा अन्तर्गत समूहगत ११ चरण सम्मको खेल सञ्चालन हुनेछ।

    नेपाल बुद्धिचाल महासङ्घको सचिवालय बैठकबाट ३ जनाको समूह खेलका लागि व्यावसायिक खेलाडीमा २१९८ उच्च रेटेड सिएमए पुरुषोत्तम सिलवाल, १६३९ रेटेड महिला खेलाडी सिन्दिरा जोशी, २ हजार रेटिङ मुनि एमेच्योर १८९० रेटेड खेलाडी हेराकाजी महर्जन र वैकल्पिक खेलाडीमा १९४३ रेटेड शैलेन्द्र न्यौपानेलाई सहभागी गराएका छन्।

    आयोजकको तर्फबाट एमेच्योर खेलाडीका रूपमा विशेष गरी प्रत्येक राष्ट्रिय संघका अध्यक्षलाई नै सहभागी हुन आमन्त्रण दिइएको थियो। यसै मौकालाई सदुपयाेग गर्दै नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले रसिया चेस फेडेरेशन सँग दुई देशीय चेस सङ्घहरू बीच सहयोग आदान प्रदानको सम्झौता समेत गर्ने भएको छ।

    प्रतियोगिताको उद्देश्य बौद्ध देशहरूबीच खेल तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने, बौद्ध फोरम मार्फत चेसलाई लोकप्रिय बनाउने, खेलाडीहरूको स्तर उकास्ने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने रहेको छ।

    अन अफिसियल आमन्त्रित बौद्ध चेस प्रतियोगितामा हंगेरीका २५५० रेटेड ग्रान्डमास्तर सानान स्जुगीरोभ, रूसका २५०१ रेटेड ग्रान्डमास्टर झाम्सारन साइदिपोभ, फिलिपिन्सका २४२३ रेटेड इन्टरनेशनल मास्टर रोडरिक नावा लगायत दर्जनौँ देशका टाइटल होल्डर शीर्ष खेलाडीको सहभागिता रहेको छ।

    सहभागी बौद्ध राष्ट्र बिच सांस्कृतिक आदानप्रदान र उच्चस्तरीय प्रतिस्पर्धा सहितको यो प्रतियोगिताले खेल कूटनीतिलाई नयाँ आयाम दिने र चेसको बौद्धिक तथा सांस्कृतिक मूल्यलाई विश्वव्यापी रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ।

    नेपाली टोलीलाई विदाई गर्ने क्रममा नेपाल चेस फेडेरेशनका महासचिव धर्मबहादुर लामाले यस सहभागितालाई गौरवपूर्ण अवसरको रूपमा लिएको भन्दै प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई, खेल मार्फत सांस्कृतिक मित्रता बढाउने महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिनुभयो।

  • युथ, क्याडेट तथा वोमेन चेस दोस्रो सातादेखि

    युथ, क्याडेट तथा वोमेन चेस दोस्रो सातादेखि


    राजु ताम्राकार, काठमाडौँ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ।

    पुरुष तथा महिला दुबै विधाका गरि ६ फरक उमेर समुहमा हुने प्रतियोगितामा युवा – १८, १६, १४, १२, १० र ८ बर्ष मुनिका खेलाडीहरुले सहभागी जनाउने छन् ।

    नेपाल बुद्धिचाल महासंघको चेस टालेण्ट हण्टका रुपमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका ५ सय भन्दा बढी विद्यार्थी खेलाडीहरुको सहभागी रहने प्रतिस्पर्धा काठमाडौको बुद्धनगर स्थित क्वालिटी बाङ्क्वेटमा संचालन हुनेछ।

    कूल ३ लाख छत्तीस हजार नगद पुरस्कार रहेको प्रतियोगितामा प्रत्येक समुहका विजेताले जनही १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार नगद, प्रमाणपत्र तथा मेडल हात पार्ने छन्।
    यस्तै १२० जना खेलाडीहरु पुरस्कृत हुने च्याम्पियनसिपमा चौथो देखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद पुरस्कार हात पार्ने छन्।

    यस प्रतियोगिताका लागि एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजकिस्तान चेस फेडेरेसनका प्रथम उपाध्यक्ष जिएम दर्मेन सद्भाकासोभ बिहिबार नेपाल आउने भएका छन्।

    नेपालको बुद्धिचाल खेल बिकासमा टेवा पुर्याउने हेतुले विश्व बुद्धिचाल महासंघ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर जिएम भिक्टोर बोलोगन शुक्रबार नेपाल आउने तय भएको छ।

    महासंघका अध्यक्ष हेराकाजी महर्जनले भिक्टोर बोलोगनको नेपाल आगमन खास अर्थ रहने जानकारी गरेका छन्। नेपालमा चेस बिकासकालागि काजकिस्तान चेस संघसंग महासचिव धर्म बहादुर लामाले समन्वय गरेका हुन्। उनले खेलाडी प्रशिक्षण तथा प्रतियोगिता सहभागी निःशुल्क रहने बताए।

    दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स प्रतियोगिता संचालन गर्न लाग्ने १० लाख खर्च मध्ये कजाकिस्तान चेस फेडेरशनले नगद पुरस्कार सहयोग गरेको छ । यसैगरी राष्ट्रिय खेलकुद परिषदले समेत आर्थिक सहयोग गर्ने भएको छ।

    ६ विधाका खेल सञ्चालन गर्न मंगलबार नेपाल बुद्धिचाल महासंघ र काजाकिस्तान चेस महासंघका बीचमा हस्ताक्षर भएको छ।
    यसैबीच नेपाली चेस खेलाडीहरुलाई प्रशिक्षण दिन काजाकिस्तानका ईन्टरनेशनल मास्टर बख्तियार आस्कारोभ मंगलबार नेपाल आइपुगेको छ।

    पन्ध्र दिनसम्म काठमाडौको दरवारमार्ग स्थित होटल उड ल्याण्डमा संचालन हुने चेस प्रशिक्षणमा नेेपालका २० जना राष्ट्रिय खेलाडीहरु लाभान्वित हुनेछन् ।

  • विश्व आइपीसीए चेस च्याम्पियनसिपमा नेपाली खेलाडीको संन्तोषजनक प्रदर्शन

    विश्व आइपीसीए चेस च्याम्पियनसिपमा नेपाली खेलाडीको संन्तोषजनक प्रदर्शन


     राजु ताम्राकार, गोवा। यहाँ जारी २४ औं विश्व आईपिसिए चेस च्याम्पियनसिपमा नेपालका खेलाडी विश्व विजय घिमिरे ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा उभिएका छन्।

    प्रतियोगिताको तेस्रो दिन नेपाली खेलाडी घिमिरेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। घिमिरेले चरणको खेलमा भारतीय खेलाडी श्रीष कुलकर्णी र चौथो चरणमा आशाराम आदित्य घुलेलाई पराजित गरेका छन् ।

    नेपाली खेलाडीले पहिलो खेलमा दिनेश कुमार माथि जित निकालेका थिए भने दोस्रो खेलमा रसियाका गेडगाफोभ चमलसँग हार ब्यहोरेका थिए।

    तेस्रो चरणको प्रतिस्पर्धामा घिमिरेले श्रीष कुलकर्णी विरुद्ध कालो गोटीवाट प्रतिउत्तर खेल सुरु गरेका थिए। उनले खेलको ३६ औं चालमा पुग्दा एउटा घोडा फाईदा गरे । जसको फल स्वरुप कुलकर्णी माथी ४५ औं चालमा जीत हात पारे।

    त्यसै घिमिरेले सम्पन्न चौथो चरणको खेलमा विपक्षी आशाराम आदित्य माथि कठिन जित दर्ता गरेका छन्। उनलाई कालो गोटी लिएर सिसिलियन प्रणालीमा खेल शुरु गरेका आशारामले ५५ औं चालसम्म कडा टक्कर दिएका थिए ।

    आसारामले स्पर्धाको ५६ औं चालमा सानो गल्ति गर्न पुगे र विजयले त्यसको फाइदा तुरुन्तै उठाउदै ५७ औं चालमा सिपाही एउटा फाइदा गरे। लगातार दवाबमा परेका आशारामलाई अनन्त घिमिरेले ८५ औ चालसम्म दोह्राउदै परिणाम आफ्नो पक्षमा पारे।

    यसैगरी घिमिरे दोस्रो चरणको खेलमा आफु भन्दा उच्च रेटेड रसियन खेलाडी गेडगाफोभ चमलले २२ औं चालमा राखेको बराबरी प्रस्ताव अस्विकार गरे। तर त्यो नै घिमिरेको गलत निर्णय हुन पुग्यो । बराबरीमा रहेेको खेलको ४१ औं चालमा सन्तुलन गुमाउदै रक्षात्मक अवस्थामा पुगे। अन्तत खेलको ६५ औं चालमा चमललाई खेल सुम्पे।

    फिडेको आधिकारिक विश्व आइपिसिए बुद्धिचाल प्रतियोगितामा पूर्ण ४ अंक सहित रसियन खेलाडीहरु २१६१ रेटेड फिडे मास्टर इलिया लिपिलिन र १९६१ रेटेड मिखायल डिजेनिसेनिया संयुक्तरूपमा शिर्ष स्थानमा रहेका छन्।

    त्यस्तै पोल्याण्डका शिर्ष खेलाडी २३७६ रेटेड आइएम  मर्सिन मोलेण्डा, आर्मेनियाका २२०६ रेटेड एफएम सर्गिस्यान सर्गीन, कजाकिस्तानका १९९४ रेटेड खेलाडी अलिमझान अयापोप, क्रोसियाका २०६० रेटेड दोमागोज ग्लाजार र रसियन खेलाडी २१८५ रेटेड आइएम आन्द्रेइ ओबोडचुक समान साढे ३ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहेका छन्।

    नेपालका १७७४ रेटेड विश्वविजय घिमिरे सहित इजरायलका २२९१ रेटेड आइएम आन्द्रेइ गुर्वानोभ, अङ्गोलाका १९९२ रेटेड आइएम इयुगेनिओ क्याम्पस, चेकोस्लाभाकियाका २०१६ रेटेड एफएम भिट भाट्लाभ भालान्ता, मङ्गोलियाका १९५२ रेटेड एआईएम सोनोम सुन्दुइ, उज्बेकिस्तानका १८८४ रेटेड गयिमनाजारोभ बहदिर, भारतका १९०५ रेटेड एफएम कृष्ण कार्थिके के भेंकाटा समान ३ अंक बनाउदै संयुक्त रूपमा तेस्रो स्थानमा रहन सफल भएका छन्।

    स्वीस लिग प्रणाली अनुसार नौ चरणसम्म संचालन हुने प्रतियोगितामा १७ राष्ट्रका ९७ जना खेलाडीहरु प्रतिस्पर्धामा छन्।

    यसैबीच नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले गोवास्थित प्रतियोगिता स्थलमा एशियन चेस फेडेरेशनका उपाध्यक्ष भरत सिंह चौहान र वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिप टुर्नामेन्ट डाइरेक्टर आनान्द बाबुसँग नेपाल चेसको बृहत्तर विकासका लागि महत्वपूर्ण भेटघाट गरेका छन्।

  • विश्व चेस च्याम्पियनसिपमा नेपालका घिमिरेलाई सफलता

    विश्व चेस च्याम्पियनसिपमा नेपालका घिमिरेलाई सफलता


    राजु ताम्राकार गोवा। विश्व बुद्धिचाल महासंघको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गरेका छन्।


    उनले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेका छन्।

    भारत स्थित गोवाको इन्टरनेशनल सेन्टरमा आरम्भ पहिलो चरणको खेलमा विश्वले कालो गोटी लिएर सिसिलियन  प्रणालीमा प्रतिउत्तर खेल शुरु गरेका थिए।

    स्पर्धाको २१ औं चालसम्म बराबरी अवस्थामा रहेको खेलमा २२ औं चाल पुग्दा घिमिरेले आक्रमण सुरु गरेका थिए।

    फल स्वरुप खेलको २७ औं चालमा पोण्ड एउटा फाइदा लिए । नेपाली घिमिरेको लगातार आक्रमणबाट रक्षात्मक अवस्थामा पुगेका भारतका दिनेेेशले ३२ औं चालमा अर्को ठूलो गल्ती गर्न पुगे। जसको फाइदा उठाउदै घिमिरेले दिनेशलाई ३८ औं  चालमा खेल त्याग गर्न बाध्य बनाए।

    स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म संचालन हुने खेलमा विश्व विजय घिमिरे सहित प्रतियोगिताका शिर्षस्थ खेलाडीहरु पोल्याण्डका आइएम मर्सिन मोलेण्डा, इजरायलका आईएम आन्द्रेस गोर्वानोभ, आर्मेनियाका एफएम सर्गिस सर्गिस्यान, काजकिस्तान एफएम सेरिक सोल्तानोभ,  रसियाका सेरेब्रियाकोभ सेर्गेइ, भारतका जि एजिलारासिले सफलता हात पार्दै पहिलो अंक जोडेका छन्।

    शत्र राष्ट्रका ९७ जना खेलाडीहरुको सहभागी रहेको प्रतियोगितामा विजेताले १ लाख नब्बे हजार, उप-विजेताले १ लाख ३५ हजार र तेस्रो हुनेले १ लाख नगद पुरस्कार हात पार्ने छन् ।

    प्रतिस्पर्धाका विभिन्न विधामा ४६ जना खेलाडीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।

    आईपिसिए विश्व चेस प्रतियोगितामा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय निर्णायक आईए यज्ञप्रसाद पन्त पहिलो पटक नेपालको तर्फबाट निर्णायकको भूमिकामा रहेका छन्।

  • जर्मनी युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा

    जर्मनी युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा


    एजेन्सी।  जर्मनी युइएफए महिला युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सलाई पेनाल्टीमा ६-५ ले पराजित गर्दै जर्मनी युरो २०२५ को अन्तिम चारमा प्रबेश गरेको हो।

    ८ पटकको च्याम्पियन जर्मनी खेलको १३औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। क्याथ्रिन हेन्डरिचले ग्रिज एमबोकको कपाल तानेर पेनाल्टी बक्सभित्र फाउल गरिन्।

    भिएआरको जाँचपछि हेनमडरिचले सिधै रातो कार्ड पाएकी थिइन्। फ्रान्सले पेनाल्टी पायो । जसलाई ग्रेस गेयोरोले गोल गरिन् र फ्रान्सले अग्रता लियो।

    तर जर्मनी तुरुन्तै खेलमा फर्कियो। १५ औं स्जोके नुस्केनले हल्का हेडमार्फत गोल गर्दै टोलीमा आत्मविश्वास फर्काइन्।

    जर्मनी टोली बाँकी खेलमा पनि संगठित र दृढ देखियो। केही समय फ्रान्सभन्दा उत्कृष्ट देखियो। फ्रान्सकी गेयोरोले दोस्रो गोल गरे पनि माएल लाक्रार अफसाइड भएकाले‌ मान्यता पाएन ।

    जर्मनी अर्को अवसरमा पनि चुक्यो । नुस्केनले पेनाल्टी सीधा फ्रान्सकी गोलकिपर पोलिन पेरोद-मान्याँको हातमा दिइन् । तजुल ब्रान्डलाई सेल्मा बाचाले फाउलगरेपछि दिइएको थियो।

    बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटतर्फ गयो। जर्मनीले ७ मध्ये ६ पेनाल्टीमा गोल गर्‍यो। गोलकिपर एन-क्याथ्रिन बर्गरले उच्च प्रदर्शन गरिन्। उनले अमेल माझ्री र एलिस सोम्बाथको पेनाल्टी बचाएर जर्मनीलाई ६–५ को जित दिलाइन्।

    जर्मनीले सेमिफाइनलमा बुधवार विश्व च्याम्पियन स्पेनको सामना गर्नेछ। युरो इतिहासमा फ्रान्सलाई सबैभन्दा धेरै ४ पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ।