वीर गणेशमान सिंह स्मृति बुद्धिचाल बैशाख १४ गतेदेखि


ललितपुर। नेपाली राजनीतिका वरिष्ठ राजनितिज्ञ , प्रजातन्त्रका अमर योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर वीर गणेशमान सिंहको स्मृतिमा नवौं राष्ट्रिय खुल्ला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता यहि बैशाख १४ देखि १९ गते सम्म हुने भएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताका विजेताले एमएडब्लू ईन्टरप्राइजेज प्रा.लि.को उत्पादन सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्नेछन्।

उपविजेताले रु. ८० हजार , तेश्रो हुनेले रु. ५० हजार र चौथो हुनेले रु. ३० हजार नगद प्राप्त गर्नेछन्। विश्व बुद्धिचाल महासंघ (फिडे), राष्ट्रिय खेलकुद परिषद, बाग्मती खेलकुद बिकास परिषद् , नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन हुने प्रतियोगितामा ३४ जना राष्ट्रिय शिर्षस्थ खेलाडीहरुले सर्वाधिक पुरस्कार नगद राशी रु. ६ लाख ५३ हजार ९ सय हात पार्नेछन्।

लौह पुरुषको नामवाट सञ्चालन हुने बुद्धिचाल खेल लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्। सात चरणको लिग खेल पश्चात शिर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन् भने बाकी खेलाडीहरु लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगमा पहिलो हुनेले नगद रु. २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ८ हजार, पाँचौले ७ हजार, छैटौं देखि दशौं हुने ६/६ हजार, एघारौं देखि पन्ध्रौं हुनेले जनही ५ हजार ५ सय र सोह्र देखि बिसौं स्थानमा रहनेले जनही ५/५ हजार प्राप्त गर्नेछन्।

त्यसैगरी , महिला प्रथम हुनेले रु. १० हजार, द्वितीयले ८ हजार, तृतीयले ७ हजार, चौथोले ६ हजार र पाँचौले ५ हजार नगद प्राप्त गर्नेछन्। साथसाथै उत्कृष्ट भेट्रान,उत्कृष्ट रेटड विलो १८००, २००० , उत्कृष्ट युवा-१९ , उत्कृष्ट लोकलले समान ५/५ हजार पाउने भएका छन् भने उत्कृष्ट अनरेटेड पहलोले ७ हजार र दोस्रोले ५ हजार नगद प्राप्त गर्नेछन्।

नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय, सानेपामा सञ्चालन हुने नवौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ् बुद्धिचाल प्रतियोगितामा एफएम, एएफएम, एआईएम, सिएम, एसिएम ,डब्लू एफएम, वर्तमान नेपाल च्याम्पियन, पूर्व नेपाल च्याम्पियनहरु, महिला नेपाल च्याम्पियन लगायत नेपाली शिर्ष रेटेड खेलाडी र नयाँ गरि २०० जना खेलाडीहरुको सहभागीता रहने ताम्राकारले जानकारी गराएका छन्।

नेपाल काँग्रेस पार्टीका सभापतिले उदघाटन गर्ने प्रतियोगितामा नेपाली चेस खेलमा लामो समय योगदान पुर्‍याएका दुई जना खेलकर्मीलाई सम्मान गरिने खेलका निर्देशक हेराकाजि महर्जनले जानकारी गराएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *