झापा। अभ्यास खेलमा व्यस्त रहेको नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै नेपालले एक खेल अगावै सिरीज हात पारेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
एक सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८ ओभर ५ बलमा एक सय ३० रनमा अल आउट भएको थियो । उसका लागि ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाउन बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा गुल्शन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र अभिनाश बोहराले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले २७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिँदा रोहित पौडेलले ३३ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र १ छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।
तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ ।नेपालले २२ र २३ मेमा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी-२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।