भारतलाई पराजित गर्दै अस्ट्रेलिया यू-१९ विश्वकपको च्याम्पियन


काठमाडौं। साविक विजेता भारतलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार दक्षिण अफ्रिकामा सम्पन्न खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलिया चौथो पटक च्याम्पियन बनेको हो।

अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१० मा उपाधि जितेको थियो। त्यसअघि अस्ट्रेलियाले सन् १९८८ को पहिलो संस्करण र २००२ मा उपाधि जितेको थियो।

आइतबार अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो।

भारतका लागि ओपनर आदर्श सिंहले ४७ रन जोड्दा उनका ओपनिङ पार्टनर अर्शिन कुलकर्नी ३ रनमा आउट भए।

मुशीर खानले २२ रन जोड्दा भातरका त्यसपछिका चार ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मुरुगन अभिषेकले ४२ रन जोडे पनि भारतले जिततर्फ अघि बढ्न सकेन।

भारतलाई सस्तैमा रोक्ने क्रममा अस्ट्रेलियाका महली ब्रेडम्यान र रफ म्याकमिलनले ३-३ विकेट लिए। कोलुम भिडलरले २ विकेट लिए।

त्यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोड्यो।

अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान गरे। उनले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए। यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे।

बलिङमा भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *