वडा अध्यक्ष कप चेस प्रतियोगितामा आशिषको अग्रता  


ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं. ९ ले आयोजना गरेको दुई दिने चेस प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन्।

आज सम्पन्न भएको सबै खेलमा जित दर्ता गर्दै दोलखाका आशिष् फूँयाल, ललितपुरका बद्रीलाल नेपाली, रौतहटका रुपेश जैसवाल, ललितपुरका सुरोज महर्जन, ललितपुरकै राजन पुरी र पेभिलोन चेस एकेडेमीका शुश्रुत दहालले समान ४/४ अंक सहित पहिलो स्थानमा उभिन सफल बनेका छन् ।

झापाका मिसन दहाल ३.५ अंक जोड्दै एकल दोश्रो स्थानमा रहन सफल भएका छन्।

ललितपुरको महालक्ष्मी नगर बुद्धिचाल संघको समन्वयमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा ललितपुरका राजु ताम्राकार, झापाका राजन सुवेदी, मकवानपुरका कृष्ण थापा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पुरुषोत्तम चौंलागाई, काठमाडौंका मिलन लामा, ललितपुरका सजिन महर्जन, काठमाडौं चेस क्लबका केशव श्रेष्ठ लगायत २५ जना राष्ट्रिय खेलाडीहरुले ३/३ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्।

महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्दै स्थानीय पालिकाको प्रयासमा खेल आयोजना गर्नु सह्राननीय कार्य भएको बताउदै देश भरिका पालिकाहरुलाई खेलकुद गतिविधि गर्न सहयोगका लागि अनुरोध समेत गर्नु भएको छ।

महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीको प्रयासमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता सहित ३५ जना खेलाडीहरुले पुरस्कार स्वरुप नगद १ लाख २३ हजार प्राप्त गर्नेछन्। भोलि शनिबार पाँच चरणको खेल हुने प्रतियोगिताका प्रमुख निर्णायक एनए सोराज ताम्राकारले जानकारी गराएका छन्। सोराजका अनुसार भोलि पहिलो खेल बिहान ९ बजे देखि शुरु हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *